२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

बारा–२ मा जसपाका यादव र लोसपाका महतोबीच प्रतिस्पर्धा हुने



काठमाडौं । आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचन अन्तर्गत बाराको क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर ४ गते भएको निर्वाचनमा जसपाको तर्फबाट विजयी बनेका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको यस स्थानमा यादव र महतो भिड्ने भएका हुन् ।

आज बिहान बसेको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकले महतोलाई उठाउने निर्णय गरेको छ । जसपा अध्यक्ष यादवलाई भने सत्ता गठबन्धनले समर्थन गर्ने जनाएको छ । गठबन्धनमा लोसपा समेत सहभागि छ ।

त्यस्तै यसै क्षेत्रमा जनमत पार्टीले पनि पूर्वमन्त्री तथा निवर्तमान माओवादी नेता शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने भएको छ । कुशवाहा बुधबार मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए ।

मंसिर ४ गतेको निर्वाचनमा जसपाका यादवले १३ हजार ८२२ मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी रहेका कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । उनीहरुबीच तीन सय ५४ मतान्तर रहेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  २ : १५ बजे