चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् । यी दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना आदानप्रदानलगायतका विषयमा सहकार्य बताइएको छ ।

काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले परिसंघले अगाडि बढाइरहेको ‘मेक इन नेपाल स्वदेशी’ अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रवद्र्धनमा दुई संस्थाबीच सहकार्य हुने जनाएका छन् ।

इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुवै संस्थाले काम गर्ने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १२ : ३४ बजे