काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी गरेकी छिन् ।
रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डको तेश्रो कार्यकाल सफल हुने दावी गरेकी हुन् ।
मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको बताइन् । मन्त्री शर्माले सरकारले केही महत्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुँगोमा पुर्याउने बताइन् ।
उनले यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोशिस गरिएको धारणा राखिन् । यस्तै, उनले नेपालमा पछिल्लो समय मिडियाको विकास तिव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको जिकिर गरे ।
उनले भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्धिपक्षीय थुप्रै भेटवार्ता गरेको पनि जानकारी दिइन् ।

