३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

प्रचण्डविरुद्ध नारा लगाउने तीन युवालाई रिहा गर्न महामन्त्री शर्माको माग



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटी राखेर जेल चलान गरिएको तीन दिनपछि कांग्रेस महामन्त्री शर्माले उनीहरूलाई अविलम्ब रिहा गर्न र रिहाको पहल गर्न माग गरेका हुन् ।

नेता शर्माले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत ती युवाहरूको रिहाको माग गर्दै विरोध गर्ने युवाहरूको प्रहरीले मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । सम्माननीय प्रधानमन्त्रीज्यू आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न र गराउन अविलम्ब पहलको माग गर्दछु,’ शर्माले लेखेका छन् ।

प्रहरीले नाराबाजी गर्ने युवाको मुख थुनेको तस्बिर र भिडियो मिडियामा आएपछि यसलाई लिएर सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १ : २३ बजे