काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दै छ । आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ ।
सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्री बन्ने आकांक्षी धेरै भएपछि भागबण्डा मिलन सकेको छैन । अहिलेको सत्ता गठबन्धनको प्रमुख दलले १० मन्त्रालयको माग गरेको छ भने कांग्रेसले कम्तिमा ७ मन्त्रालयसम्म पाउने देखिएको छ । त्यस्तै एकीकृत समाजवादीले पनि कम्तिमा ३ मन्त्रालय मागेको छ । पार्टी भित्रका आकांक्षीलाई चित्त बुझाउन दलहरुले बढी मन्त्रालय मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुश्किल परिरहेको छ ।
त्यस्तै सत्ता गठबन्धनमा गृहमन्त्रालय पनि पेचिलो बनेको छ । कांग्रेस र एकीकृत समाजवादीले गृहमन्त्रालय आफुले पाउनुपर्ने बताएका छन् भने प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्रालयमा आफ्नै पार्टीमा राख्न खोजेका छन् ।

