१३ श्रावण २०८३, बुधबार Wed Jul 29 2026

महालक्ष्मी विकास बैंकले छाउपडी उन्मूलन सहयोग गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलनका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले सुद्रूरपश्चिममा परापूर्वकालदेखि समस्याको रुपमा देखिँदै आएको छाउपडी प्रथा उन्मूलन गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने भएको हो ।

बैंकले ‘एक्सन वर्क्स नेपाल’द्वारा सञ्चालित ‘छाउपडी र महिनावारी स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजना’लाई आर्थिक सहयोग गर्ने भएको छ । छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलनविरुद्ध उक्त संस्थाले जनचेतना जगाउने र त्यसबाट प्रभावित बालिका तथा महिलालाई स्वास्थ्य सेवा र पोषणका सम्बन्धमा जानकारी गराउने उद्देश्यले बैतडीको दिलासैनी गाँउपालिकामा कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रम करिब चार महिनासम्म सञ्चालन गरिने जनाइएको छ ।

बैंकले उक्त योजनाअन्तर्गत गाँउपालिकाका विभिन्न वडामा हुने सामाजिक सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिमका लागि आर्थिक सहयोग गर्ने भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ३८ बजे