चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

बुटवल उपमहानगरपालिकाद्वारा र्जाविहीन जग्गाको सर्भे सुरु



काठमाडौं । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।

बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लक पनि नापजाँचको प्रक्रियामा जाने बताए । उनले अहिले वडा नं २, ११ र १२ का जग्गाको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै नै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताए ।

बुटवल–११ का अध्यक्ष रामचन्द्र खनालले आफ्नो वडामा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न नापीका लागि कन्ट्रोल प्वाइन्टको निर्धारणको काम सुरु भएको जानकारी दिए । वडा नं २ का करिब तीन सय घरधुरी, वडा नं ११ का चार सय घरघडेरी र वडा नं १२ का एक सय २० घरधुरीको नापजाँच अगाडि बढाइएको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए । उनले डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताए ।

सर्भेमा बुटवल उपमहानगरपालिकाका पाँच सर्भेक्षक खटिएका छन् । छिट्टै नै सर्भे पूरा गरी नापजाँचको काम थाल्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ३५ बजे