चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन् । स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चूनौति सम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उनले बताइन् ।

सम्मेलनको पहिलो दिन बिभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरु नजिकैको सरकारी कार्यालयहरुमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानून तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् । जारी भएका कानूनी प्रवन्धको कार्यान्वयन गर्दै सवै वडामा महिला सञ्जाल गठन भइरहेको उनले बताइन् । न्यायिक समितिमा आउने धेरै विवादहरुमा बहाल र कोठा खाली गराउने बिषयका छन् । उक्त बिषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : ३२ बजे