चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

दलितहरुको हकहितका लागि ‘दलित आत्मारक्षा अभियान’को पत्रकार सम्मेलन



काठमाडौं । दलित हकहितका लागि ‘दलित विद्रोह किन, कस्तो र कहिले विषयक अन्तरक्रिया कार्यक्रमको पत्रकार सम्मेलन गरिएको छ । कार्यक्रममा दलितका समस्या पहिचान र त्यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल गरिएको थियो ।

त्यस्तै कार्यक्रममा नेपालमा अझै पनि राजनीतिक दलहरुले दलितमाथि शोषण गर्दै आएको, छुवाछुतको अन्त्य अझै नभएको भन्दै सामाजिक अभियान्ताहरुले व्यापक आवाज उठाएका थिए । उनीहरुले अझ शहरमा भन्दा गाउमाँ दलितका समस्याहरु ज्यूकात्यूँ रहेको, अहिले पनि दलितहरुले पहिलाकै अवस्थामा अपहेलित हुनुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी कार्यक्रममा नेपालको संविधान २०७२ मा दलितको हकहितको बारेमा जति उल्लेख गरेपनि व्यवहारमा भने अहिलेसम्म लागु हुन नसकेको गुनासो वक्ताहरुले पोखेका थिए ।

त्यसैगरी कार्यक्रममा दलित आत्मारक्षा अभियानका संयोजक डा. मित्र परियारले जबसम्म छुवाछुतको अन्त्य गाउँबाट हुँदैन तबसम्म संविधानमा जति उल्लेख गरेपनि त्यसको अर्थ नहुने बताउँदै त्यसको अन्त्यका लागि आन्दोलनको आँधिबेहेरी आवश्यक रहेको त्यसको नेतृत्व दलित आत्मारक्षा अभियानले गर्ने बताए ।

कार्यक्रमको उद्घाटन मीठो स्वरका धनी महेन्द्र वि.क.ले क्रान्तिकारी गीत गाएर गरेका थिए । उनका गीतमा दलितका आवाज गुन्जिएको पाइन्थ्यो भने शब्द, लय र स्वर पनि दर्शक, स्रोताका मन तान्न सक्ने खालका थिए । डिकबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमा अधिकांश वक्ताहरुले दलित हकहितका लागि राजनीतिक पार्टीको पछि लाग्नुभन्दा पनि सबै तह तप्काका नागरिकहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

गत चैत ७ गते घोडेजात्राका दिन काठमाडौं धुम्बाराहीमा सम्पन्न भएको कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता र सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजक दलित आत्मारक्षा अभियान रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : १० बजे