चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही



काठमाडौं । कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । बुधबारकै बैठकले मुख्यमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा नेपाल सरकारका सेवा निवृत्त सहसचिव भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

वरिष्ठ आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकमा कार्यरत उपनिर्देशक डा शालिकराम पोख्रेललाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभा बैठकमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रवक्ता जिसीका अनुसार ‘भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खाद्य अधिकार तथा सम्प्रभुता पहिलो संशोधन नियमावली, २०७९’ लाई पनि बैठकले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयमार्फत सञ्चालनमा रहेको रानीघाट तेलपानी १८ किलोमिटर सडक निर्माणको लागि १ दशमलव १४ हेक्टर वन क्षेत्रको जग्गा प्राप्त गर्नका लागि नेपाल सरकारसमक्ष मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १ : ४० बजे