बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सामेल गराइने



काठमाडौँ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषले आगामी वैशाख १ गतेदेखि सामाजिक सुरक्षामा आबद्ध गराउने भएको छ ।

कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सामाजिक सुरक्षा योजनामा सामेल गराउने भएको हो ।

कोषका सह–प्रवक्ता रोहित रेग्मीका अनुसार अनौपचारिक क्षेत्रमा रहेका झण्डै ८० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा समावेश गराइने बताएका छन् ।
‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७९’ अनुसार उनीहरूलाई योजनामा आबद्ध गराउन लागिएको जनाइएको छ ।

त्यसका लागि स्थानीय पालिकाहरूसँग सम्झौता गरिने बताइएको छ । अहिले हरेक पालिकाहरूले आफ्नो क्षेत्रमा अनौपचारिक क्षेत्रको रोजगारीमा रहेका श्रमिकहरूको तथ्यांक राख्ने गरेको छ । सोही आधारमा उनीहरूलाई सुरक्षा योजनामा आबद्ध गराइने सह–प्रवक्ता रेग्मी जनएका छन् ।

कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रकिमहरूले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम अर्थात् एक हजार नौ सय १२ रुपैयाँ कोषमा योगदान गर्नुपर्ने हुन्छ । जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैँले जम्मा गर्नुपर्नेछ भने बाँकी ९.३७ प्रतिशत सरकारले जम्मा गरिदिनेछ । तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले उक्त रकम जम्मा नगरिदिने अवस्थामा योगदानकर्ता आफैँले जम्मा गर्नुपर्ने हुन्छ ।

यसरी कोषमा जम्मा भएको मध्ये १०।.७ प्रतिशत अथवा ९७३ रुपैयाँ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनाका लागि जम्मा हुनेछ । १० प्रतिशत अर्थात् ९३९ रुपैयाँ वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुनेछ ।

उक्त रकमको एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा रहनेछ । त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धअवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रहने कोषले जनाएको छ ।

कोषमा आबद्ध भएपछि योगदानकर्ताले औषधि, उपचार, स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा सुविधा पाउनेछन् । त्यस्तै, अस्पताल भर्ना भई तथा शल्यक्रिया बापतको शुल्क, रोग परीक्षण तथा उपचार बापतको खर्च, औषधि लगायतको खर्च पाइनेछ ।

कोषले हाल औपचारिक क्षेत्रसँगै वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेकाहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदै आएको छ । विदेशमा रहेका श्रमिकलाई आबद्ध गराउने कार्य आजबाट सुरु भएको हो । भने औपचारिक क्षेत्रमा यसअघि नै योजना अघि बढेको थियो ।

कोषले सरकारी कार्यालयहरूमा काम गर्ने अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई समेत सामाजिक सुरक्षा योजनामा सामेल गराउने भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : ३५ बजे