बाजुरा । बाजुराको गाउँपालिकाले १ स्वामिकार्तिक खापर मुक्तिकोट गाउँका १७ जना कुपोषित आमा र बच्चालाई सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बच्चालाई नगद र लुगा सहयोग गरेको बताएका हुन्।
रेली बिकले ‘बाख्राको दुध खुवाएर ४ सन्तान हुर्काएँ ४ बचाउन सकिनँ’ भनेको समाचार सार्वजनिक भएपछि मुक्तिकोट गाउँका कुपोषित आमालाई सहयोग गरिएको हो । एनआरएन युकेले त्यसको लागि १ लाख ५७ हजार, हङकङबाट निलु अन्छाम्बु लिम्बुबाट १० हजार, भैरहवाबाट राजु घिमिरे र संगीता घिमिरेले १५ हजार सहयोग गरेका हुन् । त्यस्तै गौतमले १७ जना आमाका १९ जना बच्चालाई लुगा र कपडा सहयोग बताएका छन् ।
रेली बिकको परिवारलाई ५३ हजार, १४ जना आमालाई ७ हजार ३ सयका दरले र दुई जना आमालाई ८ हजार ३ सय नगद सहयोग गरेको गाउँपालिकाले जनाएको छ । उनी कुपोषणको कहरमा रहेको जानकारी पाएपछि एनआरएन युकेले सहयोग गरेको उपाध्यक्ष शकुन्तला गुरुङ्गले बताइन् ।
एनआरएन युकेले कार्यक्रममा लाग्ने खाजा खर्च तथा खादा मालाको खर्च बचाएर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विकट बाजुराका दुर्गम गाउँका कुपोषित आमा र बच्चालाई सहयोग गरेको अध्यक्ष सुनिलबाबु खड्काले बताएका छन् । समाचारले दुर्गममा कुपोषणको दयनीय अवस्था देखाएपछि थोरै भए पनि सहयोग गरेको बताइन् । मुक्तिकोट आधारभूत स्वास्थ्य चौकीले दिएको जानकारी अनुसार कुपोषित आमा र बच्चालाई सहयोग गरेको नागरिक अगुवा पदमबहादुर सिंहले बताएका छन् ।