माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

१२ कक्षा अध्यक्षयन र २० वर्ष उमेरपछि विवाह गर्ने छोरीलाई पालिकाद्वारा ५० हजार नगद प्रदान



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरी विवाह गर्ने बेहुलीलाई ५० हजार रुपैयाँ नगद हस्तान्तर गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले जयपालसिंह दनुवारकी २१ वर्षीया छोरी लक्ष्मीसिंह दनुवारलाई बिहीबार विवाह मण्डपमै पुगेर ५० हजार रुपैयाँ नगदले सम्मान गरेका हुन् ।

चन्द्रनगर–४ गढाटोलकी बेहुली लक्ष्मीका महोत्तरीको भंगहा नगरपालिका–७ का अविनाशसिंह दनुवारसँग विवाह भएको थियो । उमेरले २१ वर्ष पुगेर विवाह गर्ने लक्ष्मी तराइमा एक उदाहरणमात्र हुन् । योसहित गाउँपालिकाले लक्ष्मीजस्तै १२ जना छोरीलाई नगद दिएर सम्मान गरिसकेको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपछि गाउँपालिकाको पहिलो बैठकले पालिकाभित्र कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरे विवाह गर्ने छोरीहरुलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ नगदले सम्मान गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले मंसिरयता १३ जना बेहुलीलाई विवाह मण्डपमै गएर ५० हजार नगद हस्तान्तरण गरेको थियो ।

पालिकाले शैक्षिक गुणस्तर सुधारका निम्ति अभियान थालेको छ । यसले बालविवाह रोक्नुको साथै छोरी शिक्षित हुने विश्वास गाउँपालिकाको छ । लक्ष्मीका पिता जयपालले गाउँपालिकाको यो निर्णयले अभिभावकलाई छोरी पढाउन आँटआउने बताए । उनले उमेर पूरा गरी विवाह भएमा छोरीको पनि स्वास्थ्य राम्रो रहने बताए । उनले छोरीको बिहेको टुंगो लागेपनि उमेरका कारण केही महिना कुरेको जनाए ।

‘यतातिर छोरीको पढाइमा ध्यान दिने चलन छैन, त्यसैले बालविवाह हुने गर्छ,’ जयपालले भने, ‘गाउँपालिकाले सहयोग र सम्मान गर्ने भएपछि हरेक अभिभावकले आफ्ना छोरीलाई कम्तीमा कक्षा १२ सम्म पढाइ २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रचलन बढिरहेको छ, त्यसका लागि केही समय कुर्नुपर्‍यो भने पनि कुरिरहेका छन् ।’

गाउँपालिकाको तर्फबाट हुने यस्ता सम्मानबाट छोरी चेलीको मनोवल बढ्ने बेहुली लक्ष्मीले बताइन् । उनले यस्ता कार्यक्रमले बालविवाहको अन्त्य हुनुका साथै महिलाको शिक्षामा पनि पहुँच पुग्ने बताइन् । ‘गाउँपालिकाको यो सम्मानले छोरी चेलीको मनोबल बढ्छ, यसले बालविवाह रोक्नमा मद्दत पुग्छ,’ उनले भनिन्, ‘छोरी शिक्षित भए दुई परिवारलाई अगाडि बढाउनमा मद्दत गर्छ ।’ स्थानीय सरकारले छोरीको शिक्षामा पहुँच पुर्‍याउन गरेको आर्थिक सहयोगले व्यवहारसमेत टर्ने उनले बताइन् ।

अध्यक्ष महतो पालिकाको निर्णयलाई निरन्तरता दिइरहँदा बालविवाहको अन्त्य र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्य पूरा हुनेमा विश्वस्त रहेको बताउँछन् ।

गाउँपालिकामा ६५ प्रतिशत बालविवाह हुँदै आएको छ । ‘मधेसमा बालविवाहका दर निकै नै छ, हाम्रै गाउँपालिकामा करिब पैसट्ठी प्रतिशत बालविवाह हुने गरेको थियो, तर यो अभियान सञ्चालनमा आएपछि धेरै कमी आएको छ,’ यो अभियान सुरु भएपछि कमी आउने उल्लेख गर्दै अध्यक्ष महतोले भने, ‘यो सव देखासिकी नै हो, अव अभिभावकले प्लस टु र २० वर्षपछि मात्र छोरीको विवाह गरिदिनेबारे अभिभावकले मनस्थिति बनाइरहेका छन् ।’ १२ कक्षा पास गरेकी छोरीले स्नातक तह अध्ययनका लागि भर्ना भएर कागजात गाउँपालिकामा पेश गरे थप ११ हजार रुपैयाँ पढाइ खर्च सहयोग गर्दै आएको पनि अध्यक्ष महत्तोले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ४९ बजे