सर्लाही । चन्द्रनगर गाउँपालिकाले पहिलोपटक सन्त श्री रविदास ६ सय ४६ औं जन्मजयन्ती मनाएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा सन्त श्री रविदास जयन्ती मनाइएको हो । सन्त श्री रविदासले भारत तथा नेपालमा चमार तथा अन्य जातीको उत्थानका लागि विभिन्न किसिमको योगदान दिएको हुँदा उनको सम्झनामा जन्मदिन अर्थात जयन्ती मनाउने गरेको गाउँपालिकाले जनाएको छ ।
चन्द्रनगर गाउँपालिकाले सन्त श्री रविदास जयन्ती मनाएर दलित समुदायलाई सम्मान गरेकोले त्यहाँका स्थानीयबासी खुसी भएका छन् । स्थानीय झगरुका अनुसार पौराणिक धार्मिक कथा अनुसार सन्त श्री रविदासजी चमार जातीका थिए, जुता बनाउने सिलाउने काम र्गनुहुन्थ्यो। सन्त श्री रविदासजीले तपस्या गरि चमार जाती लगायत अन्य जातीको पनि कल्याण गरेको हुदा उनको जन्मदिन मनाउने चलको सुरुवात भएको बताउँछन् ।
चन्द्रनगर गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले सन्त श्री रविदासलाई सम्झना गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका थिए । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोका अनुसार दलित समुदायको वर्षौंदेखि दबिएको हेपिएको भन्दै सरकारको ब्यानरमा पहिलोपटक सन्त श्री रविदासजीको जयन्ती पहिलोपटक मनाइएको बताए।
चन्द्रनगरमा कुलधाम देवता बनाउदा सन्त श्री रविदासजीको पनि मुर्ति बनाइने अध्यक्ष महतोले बताए । जयन्ती कार्यक्रममा चन्द्रनगर गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत मदन थिंग, वडा नं १ वडा सदस्य रामेश्वर प्रसाद महतो, समाजसेवी महावीर महतो लगायतको उपस्थिति रहेको थियो ।