कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

चन्द्रनगर गाउँपालिकाले थाल्यो घरदैलोमै पुगेर भूमिहीनको तथ्याङ्क सङ्कलन



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भूमिहीन नागरिकको पहिचान गरी तथ्याङ्क सङ्कलन थालेको छ । गाउँपालिकाले त्यस्ता नागरिकको घरदैलोमै पुगेर वास्तविक भूमिहीन पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने कार्य थालेको हो । वास्तविक भूमिहीनको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको छ ।

जिल्लाको दक्षिण–पूर्वी भेगको ग्रामीण क्षेत्रले भरिएको यस गाउँपालिकाका अधिकांश ठाउँ, बस्ती शिक्षा र चेतनाका हिसाबले पछाडि परेको छ । यसरी शिक्षा र चेनताले पछाडि परेको वस्ती भएको हुँदा घरदैलोमार्फत तथ्याङ्क सङ्कलन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

घरदैलोमै पुगेर तथ्याङ्क सङ्कलन गर्दा वास्तविक भूमिहीन नछुट्ने र गलत गर्न पनि नसक्ने गाउँपालिकाको दाबी छ । सातवटै वडामा तथ्याङ्क सङ्कलन भएपछि वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष महतो बताउँछन् । उनका अनुसार वडा नं. २ बबरगञ्जबाट सुरु भएको लगत सङ्कलनको काम अहिले सातवटै वडाको प्रत्येक टोलमा चलिरहेको छ । एउटा वडाको कम्तीमा पाँच ठाउँमा टोली पुगेर तथ्याङ्क लिने गाउँपालिका अध्यक्ष महतोको भनाइ छ ।

सर्लाहीमा राष्ट्रिय भूमि आयोगले बागमती, हरिवन, ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर र कविलासी नगरपालिका तथा चन्द्रनगर गाउँपालिकासँग सम्झौता गरी काम गरिरहेको छ। अन्य पालिकामा वडाबाटै लगत सङ्कलनको काम भइरहे पनि चन्द्रनगर गाउँपालिकाले भने घरदैलोमै गएर तथ्याङ्क लिने काम गरिरहेको हो।

गाउँपालिका अध्यक्ष महतोले भन्छन्, “भूमिहीनको सङ्कलित नाम अनुसार यसै वर्षदेखि जग्गा बाँड्ने योजना बनाएका छौँ ।” भूमिहीनले आफ्नो गाउँ बस्तीमै आएर लगत सङ्कलनका काम भएकाले आफूहरु ढुक्क भएको बताएका छन् ।

चन्द्रनगर गाउँपालिका–२, मुसहर बस्तीकी अकलीदेवी माझीले बस्तीमै आएर विवरण लिँदा जग्गा पाउने आस जागेको बताइन् ।” माझी भन्छिन्, “ऐलानी जग्गामा बस्दै आएका छौँ, अब यो जग्गाको लालपूर्जा बन्छ भन्ने आस लागेको छ।’’

जिल्लाका छवटा पालिकामा भूमिको लगत सङ्कलन र जग्गा नाप्ने काम भइरहेको राष्ट्रिय भूमि आयोग सर्लाहीका जिल्ला प्रवक्ता मदनबहादुर विश्वकर्माले बताए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ४२ बजे