जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

पार्टीले न्याय नदिएको भन्दै पूर्व राज्यमन्त्री वलीले त्यागिन् नेकपा माओवादी केन्द्र



दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् । वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिइन् ।

‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ’, उनले भनिन्, ‘अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’ माघ २२ गते माओवादी केन्द्रले केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिसहितको सूची टुङ्गो लगाएको थियो । त्यसमा मात्रै नभएर जिल्ला कमिटीमा समेत आफूलाई नराखिएको उनको गुनासो छ ।

उनका श्रीमान् तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् । नेकपा विघटन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनीमा शङ्कर पोखरेलको सरकार ढलेपछि उनी माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् । राज्यमन्त्री हुँदा उनी विवादमा समेत तानिएकी थिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ४४ बजे