डोटी । डोटीका तीन पालिकाले छोटा दूरीका यातायात बससेवामा सुधारका काम थालेका छन् । छोटो दूरीका यात्रुलाई सार्वजनिक यातायात सेवामा हुने गरेका दूव्र्यवहारबाट जोगाउन स्थानीय निकायले नै बससेवा सञ्चालनमा ल्याएका हुन् । यसरी स्थानीय तहले नै बससेवा सञ्चालनमा ल्याएर सुविधा दिएपछि त्यहाँका स्थानीय यात्रुहरु खुसी भएका हुन् ।
यसरी बससेवा सञ्चालन गर्नेमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिका रहेका छन् । यी तीन पालिकाले स्थानीय स्रोतबाट बससेवा सञ्चालमा ल्याएपछि त्यहाँका स्थानीय वासिन्दाले यातायातबाट हुने सास्तीबाट छुट्कारा पाएका छन् । यी तिनवटै पालिकाहरुले स्थानीय वासिन्दाहरुलाई जिल्ला सदरमुकाम सिलगढी र व्यापारिक क्षेत्र दिपायलसम्म आउन जान सहज बनाएका छन् ।
यसरी स्थानीय तहले बससेवा नदिँदासम्म लामो दूरीमा चल्ने बसहरुले छोटा दूरीका यात्रुलाई बसमा नचडाउने, चढाइ हाले पनि बीचमा झारिदिने, बढी भाडा असुल्ने, अलपत्र बनाउने गर्दै आएका थिए । यसरी स्थानीय तहले बसेसेवा थालेपछि आफूहरुलाई सुविधा भएको शिखर नगरपालिका डोटीका स्थानीय वीरबहादुर बोगटी बताउँछन् ।
त्यसैगरी सोही नगरपालिका अर्का स्थानीय बताउँछन्, ‘पहिला नजिक नजिकका यात्रुहरुलाई यातायातमा ठूलो दुःख थियो, अहिले स्थानीय निकायले बसेसेवा थालेपछि आफूहलाई सुविधा भएको छ । यसरी स्थानीय निकायकै लगानीमा बससेवा सञ्चालनमा ल्याउने कार्य अहिलेसम्म डोटीमा मात्रै भएको छ ।