जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

भरतपुर देशकै नमुना महानगर बन्ने मेयर दाहालको दावी



भरतपुर । भरतपुर महानगरकी मेयर रेनु दाहालले देशकै नमुना महानगर बन्ने दावी गरेकी छिन् । उनले महानगरभित्र दीर्घकालीन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउँदै त्यस्तो दावी गरेकी हुन् । मेयर दाहालले १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एवंम बजेट कार्यान्वयनको समीक्षा गर्दै विकास निर्माणले गति लिएको बताएकी हुन् ।

उनकाअनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । ४ सय ३२ किमि सडक स्तरोन्नती र ग्राबेलिङ गरिएको छ ।

मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताएकी छिन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको जानकारी दिइन् । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको पनि बताएकी हुन् ।

मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताइन् । नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिइन् । पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताइन् । यस्तै वाइपास सडक ४ लेनमा विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन् । हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट सहायक राजमार्ग खण्डको ८ किमि सडक निर्माणाधिन रहेको जनाइएको छ । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन् । महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको पनि उनले बताइन् ।

यसैबीच भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उनले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।

थप २४ वटा नयाँ कार्यक्रम तथा शीर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ ।

यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाएकी छिन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ३५ बजे