बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना



काठमाडौं । राष्ट्रिय सूचना आयोगले नागरिकले माग गरेको सूचना उपलब्ध नगराउँने सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवाना गरिएको छ । सिराहा नगरपालिका–७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए ।

तर सूचना नपाएपछि साहले २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए । आयोगले प्रशासकीय अधिकृत यादवलाई पटक पटक सुचनाको बेवास्था गरेको भन्दै कारबाही गरेको जनाइएको छ ।

‘कार्यालय प्रमुखलाई पटक–पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को दफा (१) बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिंदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार देखिएका छन्,’आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ संविधानप्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गर्ने सिराहा नगरपालिकाको कार्यालय, सिरहाका कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, बलिराम यादवलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १५,०००÷– जरिवाना हुने आयोगको २०७९ साल माघ १२ गते बसेको इजलाशले आदेश गरेको छ ।’

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ३६ बजे