बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै



काठमाडौं।आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ ।

गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नुभएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सुचना भोलि माघ चार गतेका लागि कार्यक्रम राखिएको छ । त्यस्तै सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ ।

सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमश प्रस्तुत गरिन्छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ३७ बजे