चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा भएको महामन्त्री थापाको आरोप



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएको आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो ।

रामकृष्ण भण्डारीले लेखेको सत्ता संघर्ष स् ३० वर्षमा २८ सरकारका नालिबेली पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा शनिबार थापाले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताएका हुन् ।

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयो । आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयो । सोमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्यो भन्ने मात्रै देखिन्छ,उनले भने ।

पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेको र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हो भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेको तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीको आड लिएको उनको टिप्पणी छ ।

बहुदलीय र संसदीय व्यवस्था नियमभित्र खेल्नुपर्ने थापाको भनाइ छ । संस्था बलियो बनाउन चुक्दा पनि प्रणालीले ठिक काम नगरेको उनको भनाइ छ । मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेको भन्दै थापाले भने, कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ४८ बजे