फाल्गुन १३, २०८० आइतबार Sun Feb 25 2024

उपत्यकामा टिकटके जुवाडेहरुको विगबिगी



काठमाडौं । उपत्यकामा जुवाडेहरुले प्रहरीको आँखा छल्ने उद्देश्यले अनेक उपाए अपनाएर जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ । जुवाडेहरुले पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको हो ।

टिकटक भनेको मानिसहरुले सामान्य आफ्नो रमाइलाका लागि सानासाना भिडियोहरु तयार पारी हाल्ने सामाजिक सञ्जाल हो । यसमा रमाइलोका लागि त्यस्ता भिडियोहरु राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको फेला परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र केही व्यक्तिले इसेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आएपछि प्रहरीले निगरानी बढाएको छ ।

उक्त सूचनाको आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी थाल्यो । प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले यसरी जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने २७ वर्षका कपिल गिरी, भक्तपुरको थिमि बस्ने २९ वर्षका प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरी कारवाही थालेको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक थप कारवाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाएको कार्यालयले जनाएको छ । पक्राउ परेका मध्य ऋषिप्रकाश योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुई वटा इसेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ ।

अर्का कपिल गिरीले पोकर किङ नामक टिकटक खोली ३ इसेवा वालेटमा १० दिनको अवधिमा ५३ हजार रकम कारोबार गरेका छन् भने प्रेम कडायत र डिल्ली अवस्थीले प्रेम नामक टिकटकमार्फत इसेवा वालेटमा एक महिना ६ दिनको अवधिमा जुवा खेलाएर ९३ हजार रुपैयाँ कारोबार गरेको फेला परेको छ ।

उनीहरुको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जनाएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : १८ बजे