चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नाबालिका बलात्कार आरोपमा थुनिएका सन्दीप लामिछाने धरौटीमा रिहा



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै आज थुनामुक्त भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले हिजो उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पु¥याएर लामिछाने आजमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् ।
उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगकातर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थिए ।

संयोग त यो छ कि उनी थुनामा परेको दिन कार्तिक १८ गते शुक्रबार थियो भने थुनामुक्त हुने दिन पुस २८ गते पनि शुक्रबार परेका छन् । सन्दीप ७० दिनपछि थुनामुक्त हुने भएका हुन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : १२ बजे