बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

सुदूरपश्चिमको मुख्यमन्त्री बने राजेन्द्रसिंह रावल



काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल बनेका छन् ।
उनी हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय बित्न थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका हुन् ।

उनलाई नेकपा (माओवादी केन्द्र) का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक गरी २९ जना सदस्यको समर्थन रहेको छ ।
प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको प्रदेशसभा सदस्यको टोलीमा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टसहितका प्रदेशसभाका सदस्य उपस्थित थिए ।

प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न एक हप्ताको समय दिएका थिए । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो । प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति केन्द्रिय सत्ता गठबन्धनमा भएको थियो ।

सोही सहमतिअनुसार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराउनुभएको छ । सभामुख पदमै नेपाली कांग्रेसका मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ०८ बजे