बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

अध्यक्षद्वारा यसै आ.व.भित्र पूर्ण साक्षर गाउँपालिका घोषण गर्ने उद्घोष



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महत्तोले यस आर्थिक वर्ष भित्र अर्थात् २०८० असार मसान्तसम्ममा ‘पूर्णसाक्षर गाउँपालिका बनाउने उद्घोष गरेका छन् ।

अध्यक्ष महत्वले “साक्षर नेपाल अभियान अन्तर्गत साक्षर जिल्ला÷स्थानीय तह घोषणाको तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो उद्घोष गरेका हुन् । व्यवहारिक विस्तृत योजना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, युवा र राजनीतिक दलसँग छलफल यो अभियान सफल बनाउने उनले बताएका छन् ।

विगत १७ वर्षदेखि निरक्षरलाई उन्मुलन गरी पूर्ण साक्षर नागरिक बनाउने भनेर लाखौ बजेट खर्च गरी सकिएको तर समस्या जस्ताकोतस्तै रहेको कार्यक्रममा बताइएको छ । पछिल्लो पाँच वर्ष यता पनि प्रत्येक स्थानीय तहलाई हरेकवर्ष ७ देखि १० लाख बजेट प्रत्येक नागरिकलाई साक्षर बनाउने नाममा आउने गरेको थियो । तर अहिलेसम्म मधेश प्रदेशको एउटा पनि स्थानीय तहका नागरिकहरु पूर्ण साक्षर भएको घोषणा हुन सकेको कार्यक्रममा बताइएको छ ।

त्यसकारण पनि मधेश प्रदेश निरक्षर प्रदेशको रुपमा रहेको हो । राज्यले यति ठूलो मात्रामा बजेट खर्च गर्दा पनि अझै १ सय ७५ वटा स्थानीय तह पूर्ण साक्षर घोषणा हुन सकेको छैन । पूर्ण सक्षर हुनेबाट बचित १ सय ७५ वटा स्थानीय तह मध्ये १ सय ३६ वटा स्थानीय तह त मधेश प्रदेशभित्रका आठ जिल्लामा पर्दछ ।

त्यसकारण पनि मधेश प्रदेश पूर्ण साक्षर हुनबाट पछाडि परिरहेको हो । यो समस्यालाई निराकरण गर्नका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्षले यसै आर्थिक वर्षभित्र आफ्नो गाउँपालिकालाई पूर्ण साक्षर बनाउने उद्घोष गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ५८ बजे