श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नौदेखि १५ महिनाका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह



काठमाडौं। सरकारले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ देखि १५ महिना पुगेका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको हो ।

दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ । खोपबाट बचाउन सकिने रोगहरूमध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ ।

यदि कुनै कारणवश खोपको कुनै पनि मात्रा लगाउन छुटेको भएमा जति सक्दो चाडै २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा गराउन मन्त्रालयको आग्रह छ ।

चिकित्सक अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट लाग्ने गर्छ । त्यसैगरी, रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग भएको चिकित्सक बत्ताउँछन् । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रूप पनि लिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ५६ बजे