बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

नेपालगञ्जमा समुदाय स्तरमै फैलियो दादुरा महामारी



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा समुदाय स्तरमै दादुरा फैलिएको छ । तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

नेपालगञ्जमा गत पुस १८ गते एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएको थियो । वडा नम्बर ७ का एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएपछि समुदाय स्तरमै दादुरा फैलिएको आशङ्कामा नेपालगञ्ज उपमहानगरपालिकाले जाँच–पड़ताल सुरु गरेको छ । प्रभावित क्षेत्रमा दादुरा रुवेलाका शङ्कास्पद बिरामीहरूको जाँच, परीक्षण तथा व्यवस्थापन शिविर सुरु गरिएको हो ।

नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ मा दादुरा प्रकोपकै रुपमा फैलिएको देखिएको चन्दले बताए। हिजो वडा नम्बर ५, ७ र ८ मा आयोजित शिविरमा ७० जनाको स्क्रिनिङ गरिएकोमा थप ८ जनामा दादुरा देखिएको छ । हिजो मात्रै वडा नम्बर ५ का दादुरा संक्रमित अढाई बर्षीय बालकको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि चन्दको भनाई छ । खोप लगाएको र नलगाएको एकिन गरेर दादुराको खोप लगाउने कार्यलाई अब अभियानकै रुपमा अघि बढाउने चन्दले बताए।

दादुरा श्वासप्रश्वासका माध्यमबाट तीव्र गतिमा सर्ने र फैलिने भएकाले नेपालगन्जका बालबालिका दादुरा महामारीको उच्च जोखिममा परेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताए। उहाँले दादुरा देखिएका वडामा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको बताए।

जनस्वास्थ्य प्रोटोकल अनुसार एउटै समुदायमा पाँच जना भन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ । नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको छ ।दादुराको महामारी देखिएपछि स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, विश्व स्वास्थ्य स्वास्थ्य संगठन, युनिसेफ, वडा स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

जनस्वास्थ्य प्रोटोकल अनुसार एउटै समुदायमा पाँच जना भन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ । नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : १९ बजे