बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

कोरोनाको वास्तविक विवरण सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमण र कोरोनाबाट ज्यान गुमाउनेको वास्तविक विवरण सार्वजनिक गर्न आग्रह गरेको छ।

पछिल्लो समयमा चीमा पुन कोभिडको नयाँ भेरियण्ड संक्रमण फैलिएको र संक्रमणबाट दैनीक धेरै मानिसको ज्यान गइरहेका खबर बाहिरिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न हामीले चीनलाई भनेका छौं । साथै रियल टाइम भाइरल सिक्वेन्सिङको जानकारी पनि धेरै भन्दा धेरै जानकारी गराउन पनि भनेका छौं ।’

चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ ।

डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनसँग उच्चस्तरीय बैठक गरेको जानकारी दिंदै चीनको अवस्थाबाट आफूहरु चिन्तित रहेको बताएका छन् । उनले आफूहरुसँग भएको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वभर हरेक हप्ता करिब १० हजार जनाको मृत्यु भइरहेको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : २५ बजे