बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ । पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् । मुख्य सचिव पौडेलले भने, ‘चुनावको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभयो, नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्नुभयो भनेर धन्यवाद दिने कार्यक्रम पनि छ ।’

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावको परिणामपछि माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ । कांग्रेस नेतृत्वमाथि गठबन्धन जोगाउन नसकेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : १६ बजे