चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

तमु ल्होसारले बृहत राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’

तमुल्होसारका दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडा जस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको सन्देशमा उल्लेख छ ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ३१ बजे