बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

अख्तियारद्वारा ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता



काठमाडौं । सर्लाहीको कविलासी नगरपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर रायसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरुलाई वास्तविक कार्यभन्दा बढी भुक्तानी दिएको भन्दै रायसहित तत्कालीन इन्जिनियर रामविनय प्रसाद यादव, सव–इन्जिनियर उमेश कुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बाल्मेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

कविलासी नगरपालिका वडा नं. ८ स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत बिल बनाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गर्ने र कार्य सम्झौताविपरीत कार्यसम्पन्न भएको भनी मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ५ : १६ बजे