बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

दोर्दी गाउँपालिकाद्वारा वडास्तरबाटै विकास योजना सम्झौताको थालनी



काठमाडौं । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाद्वारा वडास्तरबाटै विकास योजना सम्झौताको थालनी गरेको छ। गाउँपालिकाले गाउँसभाबाट विनयोजन हुने पालिकास्तरीय योजना र वडाबाट छनोट गर्न वडास्तरीय योजनाको सम्झौताको थालनी गरेको हो ।

विगतमा पालिकाभित्रका सबै योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आउँथे । चालु आर्थिक वर्षबाट भने गाउँपालिकाले वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकाले वडा नम्बर १ बाट योजना सम्झौताको थालनी गरेको छ ।

वडामा योजना सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र वडामै मिलाउनुपर्नेछ । योजना सम्झौताका लागि पालिकाका आवश्यक कर्मचारी सहित बैकका कर्मचारी समेत सामेल हुनुपर्ने गाउँपालिकाले जनाएको छ।

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले वताए। उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि पालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ भने बैक खाता खोल्न बैंक जानुपर्ने झन्झटको पनि अन्य भएको छ।

९ वडा रहेको दोर्दी गाउँपालिकामा हाल वडा नं। १ बाट सो कार्यको सुरुवात गरिएको हो । बाँकी वडामा क्रमशः सम्झौता गरिनेछ। योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि अब जनताले दुःख नपाउन भनेर पालिकाको टिम वडा कार्यालयमै गएर योजना सम्झौता गर्न थालिएको प्रशासकीय अधिकृत शमशेर गुरुङले जनकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ११ बजे