चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने



दोहा । विश्व विजेता लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् । फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए ।

मेसीले ‘म फुटबललाई माया गर्छु’ भन्ने जवाफ दिएका थिए । ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको उल्लेख गरे । यसका बाबजुद मेसीले करियरको अन्त्य यसैगरी गर्न चाहेको बताए ।

मेसीको यो पाँचौ विश्वकप हो । फाइनल अघिनै मेसीले फ्रान्सविरुद्धको खेलसँगै विश्वकप यात्रा टुंगिने बताएका थिए । सन् २०२६ मा हुने विश्वकपमा मेसी ३९ वर्षका हुनेछन् । तर प्रशिक्षक लियोनल स्कलोनीले चार वर्षपछिको विश्वकपमा पनि मेसीलाई टिममा राख्ने प्रतिक्रिया दिएका छन् ।

फाइनल पछिको पत्रकार सम्मेलनमा स्कलोनीले सुरुवातमै अर्को विश्वकपका लागि मेसीको स्थान सुरक्षित गर्ने बताएका थिए । मेसीसंग खेल्न पाउनु र उनलाई प्रशिक्षण गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको पनि स्कलोनीले उल्लेख गरे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : १६ बजे