श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अफगानिस्तानमा इन्धन ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु



काबुल । अफगानिस्तानमा एउटा इन्धन बोक्ने ट्यांकर सुरुङ मार्ग भित्र विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । राजधानी काबुललाई देशको उत्तरी प्रान्तसँग जोडने सलाङ्ग सुरुङभित्र पल्टिएर उक्त ट्यांकरमा आगो लागेको र विस्फोट भएको जनाइएको छ ।

ट्यांकरमा लागेको आगो सो सुरुङमार्गमा कुदिरहेका अन्य मोटरमासमेत सल्किएको र अर्को दिन बिहानमात्रै उक्त आगो निभाउन सकिएको अधिकारीहरुले बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीरहरुमा उक्त आगलागीका कारण थुप्रै मोटरहरु आगोले डढेर ध्वस्त भएको देखिएको छ । करिब ११ हजार १५४ फिटको उचाईमा अवस्थित सलाङ्ग सुरुङ दुई किलोमिटर ६ सय मिटर लामो छ ।

तत्कालीन सोभियत संघले सन् १९६४ मा निर्माण सम्पन्न गरेको र इन्जिनियरिङ्गको उत्कृष्ट नमूनाका रुपमा प्रशंसा गरिएको उक्त सुरङ मार्ग हिन्दु कुश पर्वत श्रृंखला भएर जाने एउटा प्रमुख मार्ग हो । सन् १९८२ मा उक्त सुरुङ मार्गमा भएको आगलागीमा परि ४ सय मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : १३ बजे