चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

तेमाल गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदिजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा अनियमितता गरेको भन्दै ५ जना ठेकेदारसहित उनीहरुमाथि मुद्दा दायर गरिएको हो ।

२०७५ मंसिरमा नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्नेबारे प्रकाशित सूचनालाई लत्त्याएर कबोल अंकभन्दा घटी संझौता रकम कायम गरेर ठेक्का संझौता गरेको र संझौता विपरित सम्पूर्ण बगर क्षेत्रमा उत्खनन् गर्न दिएको आयोगको अनुसन्धानबाट थाहा भएको छ ।

जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानीमा मात्र स्काभेटर प्रयोग गरेर उत्खनन् गर्न सकिने भएपनि जनप्रतिनिधिले आफूलाई नभएको अधिकार प्रयोग गरेर स्काभेटर चलाउन अनुमति दिएको अख्तियारको आरोप छ । ठेकेदारसँग मिलेर ठेक्का संझौता गरेका कारण २ करोड ५७ लाख राजस्व कम संकलन कम भएको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध ५ करोड १४ लाख जरिवाना तोकेको छ ।

अख्तियारले बालुवा उत्खनन्को ठेक्का लिने कम्पनी ए.एण्ड डिबी कन्स्ट्रक्सनका संचालक अनिश बल, आधिकारिक प्रतिनिधी बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सलन प्रालि, भक्तपुरका संचालक रामचन्द्र प्रधानाङ्ग, सालीनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल तथा सालीनदी र दुवाकोट कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि सत्यमान लामालाई विपक्षी बनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : २३ बजे