चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गाउँपालिका अध्यक्षले दादागिरी मच्चाएको कर्मचारीको आरोप



काठमाडौं । लुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफूहरूमाथि दादागिरी गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । गोठीचौरका अध्यक्ष बुढाले जनप्रतिनिधि भएकै भरमा आफूहरूलाई अपहेलित, निरुत्साहित हुनेगरी दादागिरी देखाएको कर्मचारीहरूले आरोप लगाएका हुन् ।

गाउँपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा बुढाले ‘तिमीहरु मलाई चुनाव हराउन मरिमेटी लागेका थियौ, अब सबै अन्त गए हुन्छ, एक वर्षसम्म कुनै कर्मचारी नभए पनि हुन्छ । म पाँच वर्षपछि फेरि गाउँपालिका अध्यक्ष उठ्ने हैन, विकासका काम रोकिए पनि केही फरक पर्दैन’ भन्ने जस्ता गैरजिम्मेवारी र आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख छ ।

संघीयताले प्रत्याभूत गरेको राजनीतिक, प्रशासनिक र वित्तीय संघीयताको कार्यान्वयनमै आँच पुग्ने गरी गुठिचौरका अध्यक्षले विभिन्न गतिविधि गरेको कर्मचारीको भनाइ छ । गत मंसिर १९ र २० मा वार्षिक नीति कार्यक्रम कसरी सञ्चालन गर्ने सम्बन्ध आयोजित बैठकको छलफलकै क्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले आफ्ना भनाइ राखेलगत्तै अध्यक्ष बुढाले राजनीतिक भाषा शैली प्रयोग गरी कर्मचारीहरुलाई गालीगलौज गरेको बताइएको छ ।
१८ मंसिरमा प्रमुख प्रशासकीय अधिकृतलगायत प्राविधिक, आइटी, लेखा र योजना शाखाका कर्मचारीहरू कार्यालयकै काममा सदरमुकाम रहेको बेला अध्यक्ष र उपाध्यक्षको मिलेमतो र केही वडाध्यक्षको सहभागितामा सुनियोजित तरिकाले शाखा अधिकृतस्तरका कर्मचारी कार्यरत हुँदाहुँदै छैटौ तहको कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएकोप्रति कर्मचारीले असहमति जनाएका हुन् ।

अध्यक्षकै निर्देशनमा कर्मचारीहरुले काम गरेबापत पाउनुपर्ने तीन महिनाको तलब भत्तासमेत भुक्तानीमा रोक लगाइएको थियो । ‘म अध्यक्ष दानबहादुर बुढा कामविशेषले काठमाडौं जानुपर्ने भएकाले अर्को प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुन्जेल मंसिर २१ गतेदेखि कुनै पनि आर्थिक कारोबार नगर्न र गरेको पाइएमा आबश्यक कारबाही गरिने छ,’ बुढाले २० मंसिरमा जारी गरेको चलानी नम्बर ५४० को पत्रमा उल्लेख छ ।

गाउँपालिका अध्यक्षले पदको आडमा पालिकाका दैनिक कार्यसम्पादन प्रभावित हुनुका साथै सम्पूर्ण कर्मचारीलाई हतोसाहित हुने गतिविधि गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले बताए । मन्त्रालयले दिएको आर्थिक अधिकारलाई रोक लगाएर अध्यक्षले वित्तीय र प्रशासनिक संघीयतालाई कमजोर बनाउने काम गरेको उनको आरोप छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ४१ बजे