बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

लुम्बिनी विकास कोषद्वारा नवनिर्वाचति सांसदलाई सम्मान



रुपन्देही । लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्यसचिव सानुराजा शाक्यले खादा ओढाएर उनीहरूलाई सम्मान गरे । सो अवसरमा सांसद घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षबीच हातेमालो जरुरी रहेको बताए । लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उहाँले कोषको गुरुयोजना सम्पन्न गर्न सङ्घीय सांसदका रूपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्र न ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य गुप्ताले लुम्बिनीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै लुम्बिनीमा एक सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेकाले त्यसका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताए । उनले लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध गरे ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ०० बजे