चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

गठबन्धन तोड्न र सत्तामा रहने एमालेको तीन रणनीति



काठमाडौँ । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश बोकेर महासचिव देव गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । गुरुङका अनुसार दुई नेताबीच गम्भीर छलफल भएन । निर्वाचन जितेकोमा गुरुङले ओलीलाई बधाई दिए । जवाफमा एमाले अध्यक्ष ओलीले कम्युनिस्ट एकतामा जोड दिए ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रहरू मिलेर अगाडि जान सकिने भनी दुवै पार्टीमा छलफल भएको स्मरण गरे । अर्थात्, ओलीले प्रचण्डलाई देव गुरुङमार्फत एमाले(माओवादी तालमेलका लागि आफू सकारात्मक रहेको सन्देश पठाएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट पहिलोपटक प्रधानमन्त्रीका दाबी गरिरहेका प्रचण्डले ओलीको सन्देश पाएपछि छिट्टै प्रधानमन्त्री हुँदै गरेको सार्वजनिक अभिव्यक्ति दिए । कांग्रेस आफूलाई प्रधानमन्त्री बनाउन तयार नभएको अवस्थामा एमाले सहकार्यका लागि तयार रहेको सन्देश पाएकै प्रचण्डले ढुक्कले छिट्टै प्रधानमन्त्री हुँदै गरेको सार्वजनिक रूपमा ओकलेको टिप्पणी गर्नेहरू पनि छन् ।

बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘तपाईँहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’ उनले आफ्नो विगतको प्रधानमन्त्री कार्यकाल पनि सम्झिए । अब के गर्ने भनेर पनि सुनाए । अर्थात्, अबको प्रधानमन्त्री आफैँ हुनेमा उनी ढुक्क देखिन्छन् । प्रचण्डले पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकाबद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाए । अब बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको उनले बताएका छन् ।

तर, प्रचण्डको यो ढुक्कताका पछाडि दुई विषय देख्छन् नेताहरू । एक – गठबन्धनबाट प्रचण्ड पहिलो प्रधानमन्त्री बन्दैछन् । दुई – प्रधानमन्त्री नपाए प्रचण्डले गठबन्धन तोड्नेछन् । प्रचण्डले गठबन्धन तोड्न भन्ने एमालेको चाहना रहेको स्वयं नेताहरू बताउँछन् । गठबन्धन तोडेको खण्डमा माओवादीसँग मिलेर सरकार बनाउन एमाले तयार देखिएको छ । यही कारण पछिल्लो समय एमाले० र नेकपा माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता पनि बाक्लिएको छ ।

नेकपा एमालेले प्रतिनिधिसभामा ७८ सिट जितेको छ भने माओवादीले ३२ सिट प्राप्त गरेको छ । १० सिटको नेकपा एकीकृत समाजवादीको १० सिट छ । स्वतन्त्र निर्वाचित ५ जनामा पनि ३ जना कम्युनिस्ट समर्थित छन् । यसमा साना केही दल मिलाउँदा सरकार नै बनाउन सकिने एमाले नेताहरूको हिसाब किताब छ । यसका लागि माओवादी गठबन्धन छोड्न तयार हुनुपर्छ ।

यही बुझेर निर्वाचनको पूर्ण परिणाम नआउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । उनीहरुबीच नयाँ सरकार गठनबारे पनि छलफल भएको थियो । शीर्ष नेताको यो संवादपछि दुवै दलका दोस्रो तहका नेताहरू भेटवार्तामा जुटिरहेका हुन् । भेटवार्तामा एमाले नेताहरू बढी सक्रिय छन् ।

मंसिर ४ को आमनिर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच बाक्लिएको संवादलाई गठबन्धन तोड्ने एमाले प्रयासका रूपमा कतिपयले अ¥थ्याएका छन् ।

२०७४ मा बनेको वामगठबन्धन भत्किएर एमाले, माओवादीमा र एकीकृत समाजवादी बनेको छ । ०७४ मा एमले एक्लैले १२१ सिछट जितेको थियो । विभाजित हुँदा यसपटक ०७४ को एमालेले जति सिट पनि पुग्दैन् । कम्यसनिस्ट विभाजित हुँदा कम्यसनिस्टलाई नै घाटा भएको भनी एमाले नेताहरुले नयाँ सम्भावनाको खोजीलाई तिव्र पारेका हुन् ।

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए ।

महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका थिए । उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका थिए । तर त्यसबेला पनि उनी बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए। अहिले महासचिव गुरुङ बालकोट पुगेका हुन् ।

एमालेमा उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङहरु वाम गठबन्धन बनाएर जाने दिशामा छलफलमा छन् । उनीहरुले नेतृत्वलाई पनि मिलेर नगए कम्युनिष्टहरुको अस्तित्व नै संकटमा पर्ने बताइरहेका छन् । माओवादीमा पनि केही नेताहरू एमालेसँग मिलेर जानुपर्ने दिशामा छन् । दुवै दलका दोस्रो तहका नेताहरुले ओली र प्रचण्डको भेट गराउने प्रयास गरिरहेका छन् ।

एक नेताका अनुसार दुई साताअघि नै उनीहरुबीच भेट गराउने प्रयास भएको थियो । मिति पनि करिब टुंगो भएको थियो । तर दुई नेताबीच संवाद अघि बढ्न सकेन ।

यसबीचमा प्रचण्डले २६ मंसिरमा प्रेस सेन्टरको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार निर्माणका लागि कांग्रेस र एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताएका थिए । यदि कांग्रेस र एमाले मिलेमा आफू प्रतिपक्षमा बस्ने उनको भनाइ थियो ।

अर्थात्, सरकार निर्माणका लागि सोझो प्रयास भइरहेको छैन भन्ने पनि प्रचण्डले प्रष्ट संकेत गरेका छन् । यो पनि एमालेको सत्ता गठबन्धन टुटाउने र शक्तिमा रहिरहने एमाले प्रयास रहेको नेताहरू बताउँछन् ।

तीन रणनीति
नेताहरुका अनुसार एमाले र एमाले अध्यक्ष केपी ओलीले आफू सत्ता बाहिरै बसेर भए पनि समर्थन गरेर गठबन्धन विभाजनको रणनीति बनाइरहेका छन् । यसकै एमाले नेताहरू लागि कांग्रेसदेखि माओवादी र अन्य दलका नेताहरुसँग पनि संवादमा जुटेका हुन् ।

एमालेको पहिलो प्रयास गठबन्धनबाट माओवादीलाई छुटाउनु छ । एकीकृत समाजवादीलाई एमालेमै मिलाउनु छ । यसो गर्दा वर्तमान सत्ता गठबन्धन टुट्नेछ ।

एमालेको दोस्रो प्रयास माओवादी र समाजवादीलाई गठबन्धनबाट बाहिर निकाल्न नसके कांग्रेससँग मिलेर सरकार बनाउने । राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको सरकार आवश्यक रहेको नेताहरुले सार्वजनिक रूपमा समेत बताइरहेका छन् । अर्थात्, कांग्रेसँग सरकारमा जान एमाले तयार छ ।

केही गरी यी दुवै रणनीति सफल हुन नसके शक्ति पृथकीकरणको विषय उठाएर एमालेले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, प्रदेश सभामुख र प्रदेश उपभासमखहरु जस्ता विषयमा एमालेको विश्वास लिएर सत्ता गठबन्धन अगाडि बढ्नुपर्ने तर्क गर्ने नीति लिने रणनीति बनाएको छ ।

विगतमा यी सबै पदहरुमा आफू र त्यसमा पनि एमाले र एमालेको पनि एउटा गुटले मात्रै लिने गरी अगाडि बढेको एमालेले यसपटक आफू सत्ता बाहिर हुने स्थिति आएपछि शक्ति पृथकीकरणको विषय उठाउन खोजेको हो । यो एमालेको तेस्रो रणनीति हो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ३१ बजे