बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

बैंकर्स संघको ३६ औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल बैंकर्स संघले ३६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
उक्त सभाले संघको कार्यकारिणी समितिका तीन जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको छ ।

तीन जना निर्वाचित सदस्यहरुमध्ये दीपक कुमार दे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एस.बि.आई बैंक लिमिटेड र सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छे बैंक लिमिटेड पुनः सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी अर्का सदस्यमा सुदेश खालिङ, एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्वाचित भएका छन् ।

संघको वार्षिक साधारणसभाको अवसरमा हरेक वर्ष बैंकिङ् क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष डा. तिलक रावललाई सम्मान गरिएको छ ।

डा. रावलले नेपाल राष्ट्र बैंकको गभर्नर, संविधान सभाको सदस्य, नेपाल बैंकर्स संघको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कार्यकारी अध्यक्ष, कृषि विकास बैंक लिमिटेडको महाप्रबन्धक लगायत राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा रही अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विकासका लागि चार दशक बढि अवधिदेखि निरन्तर रुपमा योगदान गर्दै आएका छन् ।

सभाको शुरुवात गर्दै संघका अध्यक्ष अनिल कुमार उपाध्यायले स्वागत् मन्तब्य राखेका थिए । उनले सो क्रममा हाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको मिलन बिन्दु नै मुख्य चुतौती रहेको बताए ।

उनले विद्यमान बैंकिङ्ग प्रणालीमा चुनौतीको रुपमा रहेको उच्च व्याजदर, स्रोत संकलन, अर्थतन्त्रमा आएको मन्दी, बढ्दो व्यापार घाटाका कारण तरलतामा परेको चापको कारण बैंकहरुको कर्जा गुणस्तरमा आएको प्रभाव परेको समेत बताए । यसै गरी घट्दै गएको स्प्रेड दर र आरओईले बैंकहरुमा थप चुनौती थपेको पनि बताए ।

सम्मान–पत्र ग्रहण पश्चात् डा। रावलले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै हालका दिनमा विश्व अर्थतन्त्रमा नै समस्या देखिएको र नेपालको अर्थतन्त्र दक्षिण एसियाली मुलुकहरुको तुलनामा बलियो देखिएको बताए । हाल देखिएको समस्या निरुपण गर्न र अर्थतन्त्रलार्ई बलियो बनाउन सबै मिलेर जानुपर्ने पनि बताए ।

त्यसैगरी सभाका प्रमूख आतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्दै देशको अर्थतन्त्र सुधारउन्मुख रहेको र बैंकहरुमा तरलताको उपलब्धता बढ्दै गएको बताए । देशको अर्थतन्त्र आन्तरिक उत्पादनमा केन्द्रित भई रेमिटेन्स माथिको निर्भरता कम गर्नुपर्ने तथा मुद्रास्फीति नियन्त्रण गर्न राष्ट्र बैंक चनाखो भएको र अर्थतन्त्रलाई सन्तुलनमा राख्न केन्द्रीय बैंक नचुक्ने बताए ।

कार्यक्रमको अन्तमा संघका उपाध्यक्ष सुनिल केसीले अर्थतन्त्रमा देखिएका जटिलता सामना गर्न संघ तत्पर रहेको र सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताए । तत् पश्चात उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ५९ बजे