बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

मैवाखोला गाउँपालिकाद्वारा घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण



काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घर–घरमा पुगेर गर्दै आएको छ । गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गर्ने गरेको हो ।

गत कात्तिक महिनादेखि सुरुबाट अपाङ्गता तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको कार्यलाई निरन्तरता दिएको गाउँपालिकाले जनाएको छ ।

हरेक महिना घर–घरमै पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने योजनालाई निरन्तरता दिँदै मङ्सिर महिनाका लागि धमाधम लक्षित वर्गको स्वास्थ्य परीक्षण थालिएको छ ।

स्वास्थ्यकर्मीको टोलीले लक्षित वर्ग अर्थात् अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गर्दै आएको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताए ।

वडा नं। १ ढुङ्गेसाँघुका वडाध्यक्षसमेत रहेका प्रवक्ता तामाङका अनुसार स्वास्थ्य परीक्षण, औषधि वितरणसँगै स्वास्थ्य परामर्श पनि स्वास्थ्यकर्मीको टोलीले दिँदै आएका छन् ।

गाउँपालिकाको चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश योजनाअनुसार हाल पालिकाभित्रका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिको घर–घरमै गएर स्वास्थ्य परीक्षण अभियान चलिरहेको हो। गाउँपालिकाका छ वटै वडामा अभियान निरन्तर कार्यान्वयन भइरहेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ४७ बजे