बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

दुर्घटना न्युनिकरणका लागि सवारी साधनको यान्त्रिक परीक्षण सुरू



रसुवा । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ ।

बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो । साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो ।

यही मङ्सिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लङ्घन गर्ने सयाँै सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख घलेले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ०७ बजे