बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

तीनै तहको सङ्घीयताको सफल कार्यान्वयन गर्न सरकार एकजुट हुन आवश्यक छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन् ।

काठमाडौंमा आज आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गरेका छन् । देउवाले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सङ्घीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने प्रधानमन्त्री देउवाले स्पष्ट पारे । जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्नेमा उनको भनाइ छ । भ्रष्टाचार शुन्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरी लाग्न स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : १९ बजे