२८ असार २०८३, आइतबार Mon Jul 13 2026

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेलाई महानगरले कारबाही गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमाथि हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा कानून बमोजिम कारबाही गर्ने बताएका छन् । उनले एक विजप्ति जारी गदै, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको छ । त्यसैगरी उक्त ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा संरक्षण गर्ने कानुनी दायित्व समेत स्थानीय तहलाई तोकेको छ । मुलुकी देवानी संहिता, २०७४ को भाग ५ अन्तर्गतको दफा २९९, ३०० २३०१ मा सरकारी, सार्वजनिक र सामुदायिक सम्पत्तिको प्रकार र प्रकृति उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : ०९ बजे