काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् ।
“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उहाँले बताउनुभयो । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।
“सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।” उनले भने, “पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिएका छन् । सल्लाह गरौला भनेका छन् । सल्लाह हुन्छ ।”
टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उहाँले बताउनुभयो । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए । फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”