बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

यस्ता छन् बाग्मती प्रदेशबाट निर्वाचित हुने पाँच महिला उम्मेदवार



काठमाडौं । बाग्मती प्रदेश सभाको ६६ निर्वाचन क्षेत्रबाट जम्माजम्मी पाँच जना महिला उम्मेदवार विजयी भएका छन् । बाग्मती प्रदेशसभामा ७ दशमलव ५ प्रतिशत महिला मात्र विजयी भएका हुन् । प्रदेशस भामा महिला उम्मेदवार निकै कम रहेकाले पनि जित्ने महिलाको संख्या कम भएको हो । पाँच विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रका २÷२ जना छन् भने एकीकृत समाजवादीकी एक उम्मेदवार विजयी भएका छन् । यी पाँचैजना उम्मेदवारको प्रतिस्पर्धा प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारसँग भएको थियो ।

सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ (१) बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन् । उनले १४ हजार ६ सय ५२ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४ सय ९० मत ल्याए । उक्त क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन् ।

काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् । उनलाई प्रदेश सरकारको मन्त्रीका रूपमा समेत हेरिएको छ । उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन् । उनले ४ हजार ६ सय ५६ मत ल्याउँदा महर्जनले ३ हजार ९ सय ३६ मत पाए । काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण आले मगरलाई पछि पार्दै जित हासिल गरेकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । उनले ५ हजार ८ सय १८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १ सय ८८ मत ल्याए ।

बाग्मती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुवै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् ।

हालसम्म बाग्मती प्रदेशमा नेपाली कांग्रेसले २३ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४२ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा उनीहरूकै सरकार बन्ने सम्भावना छ । नेकपा एमालले १२ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ । मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ४२ बजे