चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गठबन्धनकै तागतमा एकीकृत समाजवादीको जित



काठमाडौँ। गठबन्धन दलको सहयोगमा प्रतिनिधि सभामा उम्मेदवार बनाएको १९ सिटमध्ये १० मा सहज विजयी बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समानुपातिक मतमा भने थ्रेसहोल्ड कटाउन नसक्ने चिन्तामा छ ।

दस स्थानमा विजयी भएको सो पार्टीका नेता तथा कार्यकर्ताको गुनासो भने भिन्नै छ, “गठबन्धनमा रहेका दलले आफ्ना उम्मेदवारलाई आवश्यक परेको जति सहयोग गरेनन् ।” नेकपा (एमाले)बाट छुटेर बनेको एकीकृत समाजवादीले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गरेर आफूलाई सम्मानजनक रूपमा उभ्याउन सफल भएको छ तर आफ्नो वास्तविक परीक्षा मानिएको समानुपातिक मतमा भने निकै तल छ । सो पार्टी समानुपातिकतर्फ प्राप्त मतका आधारमा सातौँ स्थानमा छ । सो पार्टीले अहिलेसम्म एक लाख चार हजार १५१ मत ल्याएको छ ।

गठबन्धनमा रहेका दलका कार्यकर्ता भने मत नै कम भएको पार्टीका उम्मेदवारलाई ठूलो सङ्घर्षले विजयी गराएको र मत निकै कम भएकाले केही स्थानमा पराजित हुनुमा स्वयं उम्मेदवार तथा दलकै भूमिका कमजोर रहेको सुनाउँछन् ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा (एस)का १८ वटा प्रतिनिधि सभाका उम्मेदवारले प्रत्यक्षमा तीन लाख ६९ हजार ४९५ मत पाएका छन् । वैशाखमा भएको स्थानीय निर्वाचनमा यी १९ निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहबाट एक लाख ७१३ मात्रै मत ल्याएको थियो । रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एस)का उम्मेदवारको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेको भए नेकपा (एस)को मतको अवस्था ठ्याक्कै देखिने दृश्य समानुपातिकमा आएको परिणामले प्रस्ट पारिसकेको छ । राजनीतिक विश्लेषक इन्द्रनारायण भैलले गठबन्धनको उम्मेदवारले ल्याएको मत नै आफ्नो मत भएको दाबी कुनै पनि दलले गर्न नमिल्ने तर्क गरे । उनले प्रत्यक्षमा आएको मतलाई आधार मानेर समानुपातिकमा मत पाउनुपर्ने जिकिर गर्न नमिल्ने बताए ।

समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । नेकपा (एस)लाई थ्रेसहोल्ड नै पार गर्न मुस्किल हुन सक्ने आकलन गरिएको छ । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं. १ मा ३३ हजार ५२२ मत पाएर विजयी भए । स्थानीय तहको मतपरिणामको आधारमा सो निर्वाचन क्षेत्र रोजेको अध्यक्ष नेपालले आफ्नो विजय सुनिश्चित गरे ।

दाङ क्षेत्र नं. १ मा सो पार्टीका प्रभावशाली नेता मेटमणि चौधरीले २६ हजार ५६३ मत ल्याएर विजयी बन्नुभयो । धादिङ क्षेत्र नं. १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका राजेन्द्रप्रसाद पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए । दैलेखमा अम्मरबहादुर थापाले १८ हजार २९७ मत ल्याए ।

सल्यानमा प्रकाश ज्वालाले ३७ हजार सात सय मत ल्याएर विजयी हुनुभयो । सो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर थापा दोस्रो भए । बझाङमा भानुभक्त जोशीले २८ हजार ४१३ मत ल्याएर विजयी हुँदा एमालेका ऐन महर पराजित हुनुभयो । डोटीमा २७ हजार २१० मत ल्याएर प्रेम आले निर्वाचित भए । बारा क्षेत्र नं. ४ मा कृष्णकुमार श्रेष्ठले फराकिलो मत अन्तरले विजयी भए । उनले १६ हजार ४३९ मत ल्याएर एमालेका एकवाल मियाँलाई पराजित गरे ।

अछाममा शेरबहादुर कुँवरले १९ हजार ५३४ मत पाएर विजयी बन्नुभयो । डोल्पामा धनबहादुर बुढाले १२ हजार २९२ मत ल्याएर विजयी हुुनुभयो । अधिकांश उच्च तहका नेता नै विभिन्न १८ स्थानमा उम्मेदवार बनाइएकोमा सो पार्टीका १० जनाले गठबन्धनमा रहेका दलको सहयोगमा विजयी बने ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ०२ बजे