चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

स्वदेशी उत्पादन निर्यात गरेर आर्थिक विकास गर्न मेरो उम्मेदवारी : दुर्गा विक्रम थापा



काठमाडौं । । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियष्न्त्रण गर्नुपर्ने बताएका छन् ।

घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानामा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर आर्थिक विकासमा पहल गर्ने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसार तीव्र पारेका उनले आफ्नो पार्टीको पहिलो लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको बताए ।

विकास निर्माण कार्यहरुमा ढिलासुस्तिका कारण राष्ट्रका बजेट खेर गइरहेको भन्दै थापाले यसको नियन्त्रण आवश्यक रहेको बताए । आगामी ४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ ले सरप्राइज नतिजा दिने बताएका उनले करिब २१ हजार मत ल्याएर आफू निर्वाचित हुने दाबी गरे ।

काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता रहेकामध्ये ४४ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुने र आफूले २१ हजार मत ल्याएर निर्वाचित हुने उनको दाबी छ । जनताको समस्या समाधानका लागि संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताएका उनले एकपटक आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।

नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापाले स्वदेशमै रोजगारीको सृजना गरेर युवा विदेश पहलायनलाई रोक्न पनि आफूले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ४६ बजे