बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

अन्तर्घात गर्नेहरुद्वारा नै श्रेष्ठमाथि कारबाहीको सिफारिस



काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यालय क्षेत्र नं. १, नवलपुर सलार्हीले शम्भुलाल श्रेष्ठलाई कारबाहीको सिफारिस गरेको छ । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल सरकारका पूर्वपशुपंक्षी विकास राज्यमन्त्रीसमेत भएका शम्भुलाल श्रेष्ठलाई गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको आरोपका आधारमा कारबाहीको सिफारिस गरिएको हो ।

कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठलाई कारबाही सिफारिसपत्रमा पार्टीको क्षेत्रीय कार्य समितिको निर्देशनलाई नमानेको, गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु उल्टै स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकोलगायत आरोप लगाइएको छ ।

श्रेष्ठलाई नेपाली कांग्रेस सर्लाही क्षेत्रीय समितिले कारवाहीको सिफारिस गरिएको यो दोस्रो पटक हो । सर्लाही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीद्वारा हस्ताक्षरित कारवाहीको सिफारिस पत्र आज सर्लाही आइपुगेका पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रकै अनुसशान समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई बुझाइएको छ ।

पत्रमा कात्तिक २३ गते बसेको क्षेत्रीय कार्य समितिको बैठकले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको उल्लेख छ । क्षेत्रीय समितिको पत्र बुझ्दै केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले कसैलाई पार्टीको निर्णयविरुद्ध लाग्ने छुट नरहेको र यदि निर्णयको अवज्ञा गरी अगाडि बढे विधान बमोजिम कारवाही हुने बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ११ बजे