बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

काठमाडौं २ मा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पक्षमा जनलहर



काठमाडौं । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका सन्र्दभमा काठमाडौं क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । यहाँ सत्तागठबन्धन, एमाले र राष्टिय प्रजातन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् तर उनीहरुको खासै प्रभाव देखिँदैन ।

काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छ भने कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिकोको पुरै क्षेत्र पर्छ । यो क्षेत्रमा राप्रपातिर जनलहर बढ्दै गएको राप्रपाका स्थानीय नेताहरुको भनाई छ ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदा माओवादी मन नपराउने कांग्रेस मतदाताको भोट राप्रपालाई आउन सक्ने राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले विश्वास लिएका छन् । उनले भने–‘एजेण्डाको हिसावले पनि माओवादी भन्दा राप्रपा कांग्रेसका लागि नजिकको पार्टी हो ।

हिन्दू राष्ट नेपाल, धर्म निरपेक्षता खारेज, संवैधानिक राजसंस्थाको पक्षमा धेरै कांग्रेसका समर्थक पनि रहेका छन् । यो एजेण्डा राप्रपाको एजेण्डा भएकोले यससँग नजिक उनीहरुको भोट राप्रपाले आउने निश्चित छ ।’ उनले यो पटकको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले यो क्षेत्रमा फड्को मारेको बताउँदै काठमाडौं महानगरपालिकाका वडा नम्बर ९ र ३२ देखि कागेश्वरी मनोहरा र शंखरापुरमा राप्रपाको उपस्थिति बलियो रहेको बताए ।

काठमाडौंको शंखरापुरको प्रमुख सहित ३ वडा राप्रपाले जितेको बताउँदै सिंखडाले प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाले यो पटक जित हासिल गर्ने बताए । यस पटक काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले प्रतिनिधि सभा निर्वाचनका लागि कुन्ती पोखरेललाई उम्मेदवारको रुपमा अघि सारेको छ । महिला र युवा नेतृ रहेकी पोखरेलले राप्रपाकोे पक्षमा जनलहर रहेको बताएकी छिन । घरदैलो अभियानका क्रममा स्थानीय जनताले युवा पुस्ता र नयाँ नेतृत्वलाई मौका दिने बचन दिएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई क्षेत्र नम्बर २ का जनताले उत्साहका रुपमा लिएको बताइन् ।

उम्मेदवार पोखरेलले भनिन्–‘घरदैलोकोे क्रममा यस क्षेत्रका जनताले हामीलाई अपार माया दिनुभएको छ । महिला उम्मेदवार र युवा पुस्ताको उम्मेदवार अघि बढ्नुपर्छ, हिन्दूू राष्ट नेपाल बनाउन, धर्मनिरपेक्षता हटाउँन र भष्टाचार उन्मुलन गर्न राप्रपालाई भोट दिन्छौँ भनेर मतदाताले बचन दिनुभएको छ । राप्रपाले अघि सारेको एजेण्डा र मैले अघि सारेको क्षेत्र नम्बर २ को विकास र समृद्धिको एजेण्डालाई उहाँहरुले मन पराउनुभएको छ । जनताको घरदैलोमा जुन उत्साह छाएको छ त्यसले मलाई निर्वाचित हुनेमा पूर्ण विश्वास दिलाएको छ ।’

काठमाडौं क्षेत्र नम्बर २ मा शंखरापुर नगरपालिका प्रभाव क्षेत्रको रुपमा रहेको छ भने कागेश्वरी मनोहरा र काठमाडौं क्षेत्र नंबर ९ र ३२ मा पनि उपस्थिति बढेको छ । महानगरका २ वडामा कांग्रेसको भोट उल्लेख्य रहेको र त्यो भोट गठबन्धनलाई नगई राप्रपामा आउने पोखरेलको विश्वास छ ।

यता कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पनि गठबन्धनको विरोधी रहेका मतदाताको भोट राप्रपालाई आउन सक्ने राप्रपाका पूर्व केन्द्रीय सदस्य मिजेन्द्रकाजी श्रेष्ठ बताउँछन् । उनले भने–‘गएको स्थानीय तहको चुनावमा कांग्रेसको केही भोट राप्रपाले पाएको हो । कांग्रेस र एकीकृत समाजवादी गठबन्धन बनाएर गएका थिए ।

तर सबै कांग्रेसले समाजवादीबाट मेयरका उम्मेदवारलाई भोट हालेनन् । सबै कांग्रेस कम्युनिष्टलाई भोट हाल्न तयार छैनन् । कांग्रेसमा भएपनि उनीहरुको एजेण्डा राप्रपासँग मिल्ने भएका कारण उनीहरुको भोट राप्रपामा आउने गरेको छ । कांग्रेसको एउटा पक्षले यो क्षेत्रमा राप्रपालाई सहयोग नगर्नेमा २ मत छैन ।’ प्रतिनिधि सभा तर्फ यो क्षेत्रमा पोखरेलको प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धनबाट ओनसरी घर्ति, एमालेबाट मणीराम फुँयाल उम्मेदवार रहेका छन् ।

यस्तै यो क्षेत्रको प्रदेश ख तर्फका उम्मेदवार राजु बिष्टपनि सशक्त उम्मेदवार रहेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठ शंखरापुर नगरपालिकाका मेयर भएका बेला विवादित व्यक्तिका रुपमा रहेका थिए । उनीमाथि अबैध ढंगले डाँडा पाखाका बालुवा उत्खनन् गर्न दिएको आरोप छ भने अर्का एकीकृत समाजवादीका उम्मेदवार भरत फुँयाल प्रतिस्पर्धी रहेका छन् । यसअघि नै जनताले परिक्षण गरिसकेका उम्मेदवारहरु आफ्ना प्रतिस्पर्धी रहेका कारण आफ्नो जित सुनिश्चित हुने विष्टको दावी छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १४ बजे