२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

रवि लामिछानेको घाँटी राजासँग जोडिएको बानियाँको आरोप



हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवम् पाँच दलीय गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा उम्मेदवार ईन्द्रबहादुर बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीको राजावादीहरुसँग साँठगाँठ रहेको दाबी गरेका छन् । आफूलाई नयाँ तथा स्वतन्त्र राजनीतिज्ञको रुपमा चित्रण गर्ने रबि लामिछानेले गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग मिलेर लोकतान्त्रमा विश्वास गर्नेहरुमाथि भ्रम फिँजाएको बानियाँको भनाई छ ।

मनहरी गाउँपालिकामा भएको चुनावी सभामा बोल्दै बानियाँले भने, ‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ, त्यो पार्टीले संघीय ब्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी दिएन, कांग्रेस हुँ भन्दै अरु नै चिन्ह लिएर उठ्नेहरुसँग भ्रममा नपर्नुहोला ।’

लामिछानेले राजावादी पार्टीहरुले बोकेको संघियता खारेजीको मुद्धा बोक्नु नै उनको पूर्वराजा र राजावादी समूहसँगको सम्वन्ध निकट रहेको स्पष्ट भइसकेको भन्दै बानीयाँले झुटको खेती गर्नहरुलाई लोकतन्त्रमा विश्वास राख्ने जनताले पाखा लगाईदिने बताए ।

लोकतन्त्रको लागि लडेकाहरुको गठवन्धन विरुद्ध राजासँग घाँटी जोडिएका दलहरु भिडन नसक्ने भन्दै उनले मंसिर ४ पछि भ्रम छर्नेहरु छर्लङ्ग हुने बानियाँको भनाई थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ५० बजे